गल्ती त्रिविको, पीडा विद्यार्थीको

  • ख्वपखबर
  • मंसिर २६, २०८२

कात्तिक १७, त्रिभुवन विश्वविद्यालय कानुन संकायअन्तर्गतको एलएलबी तेस्रो वर्षको नतिजा सार्वजनिक भएको दिन । मेरा लागि ‘दिन’ हुनुपर्थ्यो । तर, भइदियो ‘दीन’ ।

२०७५ मंसिर

२०७५ मंसिरमा म काठमाडौं आएँ । एलएलबी विषयबारे अलिअलि बुझेकी थिएँ । त्यसैले कानुनमा स्नातक पास गरेर, नेपाल बार काउन्सिलको अधिवक्ता परीक्षा दिएर अधिवक्ता सदीक्षा शर्मा आचार्य हुन्छु भन्नेमा ढुक्क थिएँ । जनप्रशासन विषयमा मैले त्रिविबाट प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरें । थेसिस गर्न विश्वविद्यालय अनुदान आयोगबाट अनुदान पनि पाएँ ।

तात्विक सरोकार अनि सार्थक सम्बन्ध

एलएलबीको प्रवेश परीक्षा दिएँ, नाम निस्कियो । सपनालाई वास्तविक आकार दिने पथमा एक पाइला अघि बढ्न सफल भएकी थिएँ । नेपाल ल क्याम्प्समा भर्ना गरें, रोल नं १०९ भयो । प्रथम वर्षको नतिजा आयो । २०७६ ब्याचको एलएलबी प्रथम वर्षको नतिजामा मेरो सर्वोत्कृष्ट अंक आएको रहेछ । दोस्रो वर्ष पनि मेरो उत्कृष्ट नतिजा आयो । तेस्रो वर्षमा अझै मिहिनेतले अध्ययन गरेकी थिएँ । ‘राम्रै हुन्छ’ भन्ने लाग्यो ।

परीक्षा सकिनेबित्तिकै नेपाल बार काउन्सिलको ३३ औं अधिवक्ता तहको परीक्षाको तयारीमा लागें । नतिजा कहिले आउने ? निश्चित थिएन । तयारी यसै भयो ।

मंसिरको अन्तिम बुधबार लोक सेवा आयोगले विभिन्न सेवा समूह, उपसमूहमा विज्ञापन खुलाउँछ । उक्त परीक्षामा सहभागी हुन स्नातक उत्तीर्ण गरेको हुनुपर्छ । मलाई कानुन, न्यायतिरै आफ्नो जग बसाल्ने इच्छा थियो, त्यसैले न्याय सेवाको तयारी कक्षामा जोडिएँ । रिजल्टको केही गाइँगुइँ भएन ।

मेरो जीवनमा नमीठो खबर लिएर आयो– कात्तिक १७ । बेलुका करिब ८ बजेको थियो । म न्याय सेवाको अनलाइन कक्षामा सहभागी थिएँ, नोटिफिकेसन बज्यो । एलएलबी भाइबर ग्रुपमा रहेछ । निकै बजेपछि मैले नजर लगाएँ– एलएलबी तेस्रो वर्षको परीक्षाफल प्रकाशित । अनलाइनमा नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि हेर्न मिलिरहेको थिएन । मेरो मनमा नतिजा हेर्ने कौतुहलता बढेको थियो । मैले मेरो सिम्बल नम्बर खोजें, देखिन । मनमा एक्कासि चिसो भएर आयो ।

एबसेन्ट र फेल

भोलिपल्ट बिहानै फेरि उक्त लिस्ट हेरें । म त्यो लिस्टमा थिइनँ । अनलाइन चेक गर्न खोजें । दिउँसो ३ बजे बल्लतल्ल अनलाइन साइट खुल्यो । आफ्नो सिम्बल नम्बर राखेर चेक गरें– एबसेन्ट र फेल । त्यसपछि भने मेरो डर सत्य साबित भयो । म फेल भएकी थिएँ वा बनाइएको थियो । यस्तो हुनै सक्दैन, तुरुन्तै त्यो त्रुटि सच्याउनुपर्छ भन्ने लागेर म भोलिपल्टै काठमाडौं पुगें ।

परीक्षा समितिमा समेत रहनुभएका गुरुलाई भेट्न म बिहानै नेपाल ल क्याम्पस बीए.एलएलबी विभाग गएँ । आफ्ना विगतका मार्कसिटसमेत लिएर म उक्त विभाग पुगेकी थिएँ । उहाँलाई देखेपछि मेरो आँखाबाट बरर्र आँसु खस्न थाल्यो । मेरो आँसुले आश्वासन खोजेको थियो, सहयोग माग्दै थियो । पीडितशास्त्र (ल ५११) मा अनुपस्थित, ‘प्रोफेसनल इथिक्स एन्ड लयरिङ स्किल्स’ (ल ५०३) मा मलाई ५० पूर्णांकमा १२ नम्बर दिइएको थियो । क्याम्पस प्रमुख सरलाई भेटें, आफ्नो पीडा सुनाएँ । त्यो दिन मात्रै मैले एघार जना व्यक्तिसँग भेटें । मैले गुरुहरू सबैसँग सहयोग मागें, गुहारें । तर, मैले केवल आश्वासन पाएँ ।

जसले पनि ‘यस्तो टपर विद्यार्थीको त यस्तो नहुनुपर्ने’ भन्नुहुन्थ्यो । तर, त्यस्तै भएको थियो । म निरीह थिएँ । क्याम्पसबाट लेटर बनाएर म त्यही दिन समय नगुजारी बल्खुतिर लागें ।

मैले कात्तिक २० मा बल्खु गएर अनलाइनमार्फत रिटोटल आवेदन दिएँ । आईटी शाखामा गएर एक हजार रुपैयाँ बुझाएँ । म जस्तै सयौं विद्यार्थीको लाइन थियो त्यहाँ । प्रक्रिया सकेपश्चात् म घर फर्कें । निवेदनबारे अझै कन्फर्म गर्न भोलिपल्टसमेत गएँ । प्रक्रिया मिलेको जानकारी पाएपछि म फर्किएँ ।

एबसेन्ट भएको विषयको हकमा निवेदन दिन मलाई क्याम्पसको लेटरहेडसहितको चिठी ल्याउन भनिएको थियो । मैले लिएर गएकी थिएँ । रिटोटल रिजल्टको सुइँको आएन । उता साथीहरू भने बार काउन्सिलको तयारीमा धमाधम जुटिरहेका थिए । म दिनदिनै क्याम्पस जान्थें । कोही न कोहीसँग भेटेकै हुन्थें । ‘यस्तै हो, यस्तै गर्छन्’ भन्थे कोही । ‘रिटोटल दिएर केही अर्थ छैन’ भन्थे कोही तर मलाई ‘केही प्राविधिक त्रुटि भएको पनि होला’ जस्तो लाग्थ्यो । म सकेसम्म सकारात्मक रहने प्रयास गर्थें ।

मंसिर १५ गते नेपाल बार काउन्सिलको ३४ औं अधिवक्ता तहका लागि आवेदन खुल्यो । पुस ७ सम्म नियमित र अर्को ७ दिनसम्ममा डबल दस्तुरको आवेदन छ । मेरो रिजल्टको अनिश्चितताले बारको तयारी पनि यता न उता भएको छ ।

उता लोक सेवा आयोगको पनि फर्म खुल्यो । एक वर्षदेखि जागिर छोडेर तयारी गर्न बसेकी मलाई अझै रिटोटलको अत्तोपत्तो छैन । यो तहको मानसिक पीडामा म कसरी पढौं ? के भरोसाले पढौं ? मैले फर्म भर्न नपाउने ?

क्याम्पस प्रमुखदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुसम्म, डिन कार्यालयदेखि रेक्टर अफिससम्म हारगुहार गर्दासमेत मैले पार पाउने केही आधार फेला पारिनँ । बल्खुमा बुझ्यो, ‘तपाईं जान्ने हुनुहुँदोरहेछ, फेरि परीक्षा दिनुस् र पास गर्नुस्’ भनेर कत्ति सजिलै भन्ने । ‘केही परिवर्तन हुने होइन, किन सोधेको ?’ जस्तै बनाइदिने बल्खुको यो गैरजिम्मेवारी बोली र व्यवहारले मेरो सपनामा ब्रेक लागेको छ ।

एक दिन बल्खुबाट रिटोटलको आवेदन नै नपरेको भन्ने थाहा पाएँ । फोनमा ‘मैले आवेदन भरेको छु, स्लिप छ’ भन्दासमेत ‘होइन तपाईं यहीँ आएर मिलाउनुपर्छ’ भनियो ।

पछि थाहा पाएँ– कर्मचारीले त्यहीँ भएको नाम नदेखेर मलाई बल्खु बोलाइएको थियो । यी र यस्ता उदाहरण एउटा मात्रै होइन, त्रिविका अधिकांश विद्यार्थीले भोगेको समस्या हो । एउटा पुस्तक पसलमा मभन्दा अग्रज दाइले समेत यस्तै प्रकृतिको समस्या भोगेको बताएपछि भने समस्या साझा रहेछ भन्ने जानें ।

मंसिर २० मा टीयू स्टुडेन्ट्स नामको फेसबुक पेजमा एक जनाले पोस्ट गर्नुभयो मेरोजस्तै गुनासो लिएर । उक्त पोस्टमा २०० भन्दा बढी त्रिविले दिएको दुःखका प्रतिक्रिया आएका छन्, जसमा त्रिविका गल्तीले विद्यार्थीले भोग्नुपरेको पीडा पोखिएको छ ।

यो एक महिनामा मैले बल्खुको अनेक रूप देखें । सबैभन्दा भयानक रूप विद्यार्थीको भविष्यमाथिको खेलबाड । यो कहिले समाधान हुन्छ ?

मेरो एलएलबी– २०७६ ब्याचमा उत्कृष्ट अंक आएको छ । संवैधानिक कानुनमा समेत प्राइज पाउने पक्का थियो । नेपाल ल क्याम्पसको परीक्षा समितिले ‘प्रोफेसनल इथिक्स’ विषयमा अनौपचारिक रूपमा उत्तरपुस्तिका हेर्दा मेरो उत्तरपुस्तिकामा कम्तीमा ३० आउने जानकारी पाएपछि मलाई उत्तरपुस्तिका जाँच्ने गुरुको नियतमा शंका लाग्यो । उत्तरपुस्तिका हेरेर ‘३० भन्दा कम आउँदैन’ भन्ने थाहा पाउँदा पाउँदै मैले पुनः परीक्षा किन दिने ?

यो थाहा पाएपछि म शिक्षाध्यक्षसित भेटेर आफ्ना कुरा राख्न गएँ तर यी पूरै कुरा भन्नै पाइनँ । अब दोषी को ? शिक्षाध्यक्षले नसुनेका कुरा कसले सुन्छ ? मलाई यो हालतमा पुर्‍याउने कापी जाँच्ने व्यक्ति ? दिनदिनै दुःख दिने पनिका ? वा नेपाल ल क्याम्पस ? अझै भनौं त्रिवि र त्रिविका पदाधिकारी ? न्यायका लागि मजस्ता हजारौं विद्यार्थी कुन अदालत जाने ? मेरो गल्ती नभए पनि विगत एक महिनादेखि म किन यो सजाय भोगिरहेकी छु ?

मेरो सपनामा पछिल्लो समय प्रश्नचिह्न लागेको छ । मजस्ता कत्ति विद्यार्थीको भविष्यमा खेलबाड गर्छ त्रिवि ? विश्वविद्यालयको उद्देश्य यही हो ? व्यक्तिगत कुण्ठा साध्ने संरचना होइन त्रिवि । जवाफदेहिता वहन गर्नु पर्दैन त्रिविले ? ईकान्तिपुर

Your email address will not be published. Required fields are marked *

सम्बन्धित