भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

म्याग्दीमा बढ्याे धान उत्पादन

  • ख्वपखबर
  • मंसिर १०, २०८२

म्याग्दीम यस वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार जिल्लाको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । अनुकुल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव एक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । “धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो”, उनले भने, “रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो ।”

गत कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षाले म्याग्दीका धानबालीमा ठुलो क्षति नपुर्‍याएको कार्यालयले जनाएको छ । जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५९ मेट्रिकटनका दरले १३ हजार ६६३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर तीन दशमलव ७० मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए । 

जिल्लाका विभिन्न ठाउँमा गरिएको बाली कटान विधिबाट उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले बताए । उनका अनुसार गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शङ्कर, युएस–३१२ लगायत जातका धानखेती यहाँका मुख्य बाली हुन् । 

भिरालो जमिनमा पनि गर्न सक्ने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती लेकाली क्षेत्रका किसानले गर्छन् । पछिल्लो समय उन्नत जातमा किसानको आकर्षण बढेपछि धैया, अनदीलगायत रैथाने जातका धानको खेती घटेको लामिछानेको तर्क छ । 

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र अन्नपूर्णको शिख, राम्चेमा चिसोका कारण धान उत्पादन हुँदैन् । 

मङ्गला गाउँपालिका–२, सिमका ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए । मौसमले साथ दिएकाले उत्पादन बढेको बताउँदै उनले गत वर्ष १०० मुरी मात्र धान उत्पादन भएको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्न बालीको खेती प्रवर्धनको कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष १० लाख बजेट विनियोजन भएको यस कार्यक्रममा चालु आवमा १५ लाख विनियोजन भएको छ । कार्यक्रममार्फत सिँचाइ, पूर्वाधार विस्तार र यान्त्रिकीकरणमा सहयोग गरिन्छ । 

स्थानीय तहअनुसार कोटा निर्धारण गरेर रासायनिक मल आपूर्ति र वितरणको व्यवस्था मिलाएकाले किसानले मल अभावको समस्या झेल्नु नपरेको जनाएका छन् । रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तार हुन नसक्नु, जनशक्तिको कमीलगायत कारणले जिल्लामा धानखेतीको मुख्य चुनौती बनेको छ । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित