भर्खरै :
५८ करोडको भ्रष्टाचार : प्रमुख थापासहित १२ विरुद्ध मुद्दा दर्ता | डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको कदम | नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी | जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक | अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथि चुनौती : राष्ट्रपति पौडेल | गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह | स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण | “चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।” |

आयाति रङले घरमा माटो पोत्ने चलन हरायो

  • ख्वपखबर
  • अशोज १०, २०८२

निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आउनुभएको छ ।

पछिल्लो पाँच वर्षयता भने आयाति रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो गर्न समस्या भएको छ । दसैँ आउनुभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको हो ।

“एक दशकअघिसम्म दसैँका बेला करिब १०० घरमा माटो पुर्‍याउने गरेको थिए, हाल १५ घरमा पनि माटोको माग हुँदैन । हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको छ”, विकले भन्नुभयो,“जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाउन थाले । पहिले कमेरो लगाउने भित्तामा हाल इनामेल र अरु रङ लगाउन थालिएको छ । पहिले एकैदिनमा रु सात सयसम्म पनि कमाई हुन्थ्यो, हाल पाँच दिनमा पनि सात सय हुँदैन ।”

स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ हाल झाडीले ढाकिएको सुनाउनुभयो । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले माटोले पोत्न छोडेको उहाँको भनाइ छ । “माटो बेचेर दसैँका बेला रु १० देखि २० हजार कमाउने गरेकी थिए । पछिल्लो समय काम गर्न छोड्नुपर्ने अवस्था आयो । बसाइँसराइ बढ्यो । विकासको प्रभावले बजारका सामानले ठाउँ लिए”, सुनारले भन्नुभयो,“पहिलेजस्तो बारीबाट रातोमाटो ल्याउने अवस्था रहेन । अहिले गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थाले । गाउँमा परम्परागत पहिचान हरायो, हाम्रो आम्दानी गुम्यो ।”

विगतमा रातोमाटो र सेतो कमेरोमाटोले घर पोतिनु गाउँको मौलिकता नै थियो । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटोले घर पोत्न चलन हराउँदै गएको छ । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित