रूस र युक्रेनले किन गरे प्रतिष्पर्धी युद्धविराम घोषणा ?

  • ख्वपखबर
  • बैशाख २२, २०८३

चार वर्षदेखि जारी युद्धका बीच रूस र युक्रेनले अलग–अलग एक पक्षीय युद्धविराम घोषणा गरेका छन् । रूसले सोमबार मे ८–९ का लागि युद्धविराम घोषणा गरेको छ । जुन समयमा रूसले परम्परागत रूपमा ‘महान देशभक्त युद्ध’ (रूसले दोस्रो विश्वयुद्धलाई यसरी भन्छ) को विजय दिवस मनाउँदै मस्कोमा ठूलो सैन्य परेड आयोजना गर्ने भएको छ ।

कीभले त्यसपछि आफ्नो तर्फबाट मे ५–६ का लागि छुट्टै युद्धविराम घोषणा गरेको छ । रूसी सशस्त्र बलका सर्वोच्च कमाण्डर–इन–चीफ भ्लादिमिर पुटिनको निर्णयअनुसार, मे ८–९ सम्म युद्धविराम घोषणा गरिएको छ । युक्रेनी पक्षले पनि यस्तै कदम चाल्ने रुसले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही समयपछि रूसबाट कुनै औपचारिक सूचना प्राप्त नभएको बताएका छन् । युक्रेनले मङ्गलबार, मे ५ मध्यरातदेखि छुट्टै युद्धविराम लागू गर्नेछ ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजसम्म, युद्ध रोक्ने सम्बन्धमा रूसले कुनै औपचारिक अपील गरेको छैन, जसको दाबी उनीहरूले सामाजिक सञ्जालमा गरिरहेका छन् ।’ ‘यस कारणले हामी मे ५–६ को रातदेखि युद्धविराम लागू गर्ने घोषणा गर्छौ । त्यसअघि बाँकी समयमा शान्ति सुनिश्चित गर्न सम्भव छ’, उनले भनेका छन् । उनले थप भनेका छन्, ‘मानव जीवन कुनै पनि ‘उत्सव’ भन्दा अतुलनीय रूपमा मूल्यवान छ र रूसी नेताहरूले युद्ध अन्त्य गर्न वास्तविक कदम चाल्ने समय आएको छ ।’

चेतावनी र मस्कोको ‘डर’
पुटिनले पहिलो पटक युद्धविरामको प्रस्ताव गत हप्ता डोनाल्ड ट्रम्पसँगको फोनवार्तामा गरेका थिए । त्यस समयमा युक्रेनले वाशिङ्टनसँग विवरण माग्ने बताएको थियो, साथै सुरक्षा ग्यारेन्टीसहित दीर्घकालीन शान्ति सम्झौताको समर्थन गर्ने पनि दोहोर्‍याएको थियो । रूसी रक्षा मन्त्रालयले सोमबार भनेको छ कि विजय दिवस परेडको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक कदम चालिनेछ । साथै, युद्धविरामको समयमा युक्रेनले आक्रमण नगर्न चेतावनी दिएको छ ।

रूसले यो युद्धविरामलाई विजय दिवस समारोहका क्रममा सम्भावित युक्रेनी आक्रमणको जोखिमका कारण ‘सावधानी उपाय’ भनेको छ । जेलेन्स्कीले सोमबार युरोपेली संघका नेताहरूसँग भेट्दा भने कि रूसले परेडमा सैन्य उपकरण नदेखाउनुको कारण युक्रेनी ड्रोनको डर र रूसको कमजोर अवस्था हो । फेब्रुअरी २०२२ मा रूसको युक्रेन आक्रमण सुरु भएदेखि यो युद्ध युरोपको दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक संघर्ष बनेको छ, जसमा लाखौं मानिसहरू विस्थापित भएका छन् र हजारौंको मृत्यु भएको छ । अन्नपुर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित