सूनपामा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै

  • ख्वपखबर
  • जेष्ठ १६, २०८३

सूर्यविनायक नगरपालिकामा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम एकसाथ हुँदै छ । सूनपा वडा नं. ८ ले स्थानीय उत्पादन प्रवर्द्धन र विद्यार्थीको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित हाटबजार तथा विद्यार्थीहरूको सम्मान कार्यक्रम एकैसाथ आयोजना गर्ने भएको हो ।

कार्यक्रम जेठ १६ गते शनिबार सूर्यविनायक पार्टी प्यालेस (सूर्यविनायक भलिबल कोर्ट नजिकै) मा दिउँसो १२:३५ बजे बाट सुरु हुनेछ ।

वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार कार्यक्रममा स्थानीय कृषि उत्पादन, घरेलु सामग्री, हस्तकला तथा विभिन्न प्रकारका खाद्य परिकारहरू समेटिएको ५५ भन्दा बढी स्टलहरू रहनेछन् । स्थानीय किसान र उद्यमीहरूले उत्पादन गरेका ताजा तरकारी, अचार, मसला, ड्राइफ्रुट्स लगायतका सामग्रीहरू मुख्य आकर्षण रहनेछन् ।

त्यसैगरी, एसईई परीक्षामा सफल भएका १०० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान तथा बधाई कार्यक्रम समेत सोही अवसरमा आयोजना गरिनेछ।

वडाध्यक्ष बस्नेतले कार्यक्रमबारे जानकारी दिँदै भने, “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र विद्यार्थीहरूको मेहनतलाई सम्मान गर्ने उद्देश्यले हामीले घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रमलाई एकै ठाउँमा आयोजना गरेका हौँ । यसले समुदायमा उत्साह, एकता र आर्थिक गतिविधि बढाउने अपेक्षा गरेका छौँ ।”

कार्यक्रमलाई थप आकर्षक बनाउन सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत रहने जनाइएको छ ।

वडाले सम्पूर्ण नगरवासीलाई कार्यक्रममा सहभागी भई स्थानीय उत्पादनको प्रवर्द्धन तथा विद्यार्थीहरूको उत्साहवर्धनमा साथ दिन अनुरोध गरेको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित