उपत्यकाका सम्पदाहरु सभ्यताको चिनारी हो

  • ख्वपखबर
  • बैशाख १२, २०८२

भक्तपुर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मा. मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी र परिचयको आधार रहेको बताउनुभयो । मन्त्री पाण्डेले भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा ‘२०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन’ र अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

शुक्रबार आयोजित सो कार्यक्रममा मन्त्री पाण्डेले भन्नुभयो, “काठमाडौं उपत्यकाका सम्पदाहरु केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार पनि हो ।भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाल मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरवको विषय हो ।”

उपत्यकाका भौतिक र अभौतिक सम्पदाहरुको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको जनाउनुभयो ।


सम्पदाप्रतिको मोह र आस्था नयाँ पुस्तामा जागृत गराउने सिलसिलाको रुपमा सम्पदासम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउँदै उहाँले सम्पदाको महत्वबारे नयाँ पुस्तालाई सुसूचित गर्दै हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भएको हो ।
हाम्रा सम्पदाहरू स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोडिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले सम्पदाहरुको विश्वव्यापी प्रचारप्रसारमा सम्बन्धित सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
सम्पदा संरक्षणमा स्थानीयहरुको सहभागिता महत्वपूर्ण पक्ष रहेको जनाउँदै उहाँले पुरातात्विक सम्पदामाथि हुने हमला र हस्तक्षेपबारे सबैजना सचेत हुनुपर्ने बताउनु भएको हो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित