‘लन्डन ब्रिज’: दशौँ औद्योगिक व्यापार महोत्सवको मुख्य आकर्षण

  • ख्वपखबर
  • चैत्र २०, २०८२

भक्तपुर, ‘लन्डन ब्रिज’, दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको मुख्य आकर्षण हुने भएको छ । यहीँ चैत २६ गतेबाट सुरु हुने दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको मुख्य आकर्षण ‘लन्डन ब्रिज’ हुने भएको हो ।

महोत्सवका संयोजक दीपक थापाले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिने जानकारी दिए । यसका साथै महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरूको समेत व्यवस्था गरिने संयोजक थापाले जनाए । पर्यटक वर्ष नयाँ वर्ष तथा बिस्का: जात्रालाई लक्षित गरी सो महोत्सव आयोजना गर्ने गरेको छ । संयोजक थापाका अनुसार यस वर्ष औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा संचालन हुने सो महोत्सव ११ दिन सम्म चल्ने छ ।

संयोजक थापाले भने, ‘भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत नौ वर्षदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएका छौँ । ‘ संयोजक थापाले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा एकै स्थानमा उपलब्ध गराउने तयारी समेत रहेको बताए । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको संयोजक थापाको भनाइ थियो ।

उक्त महोत्सवको स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । अध्यक्ष महतले विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना हुने बताए । महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने तयारी आयोजकको रहेको छ ।

आगामी चैत्र २६ गतेदेखि २०८३ सालको नयाँ वर्षको वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा रहेका स्टलबाट करिब ५ करोडको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सव हेर्न र किनमेल लगायत मनोरञ्जन गर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानीयहरु आउने गरेको आयोजकले जनाएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहने छन् । प्रवेश शुल्क विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० टिकट दर निर्धारण गरिएको छ । २०८३ बैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना गर्ने निर्देशक सुनिल बज्राचार्यले जानकारी दिएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित