मखमली फूल टिप्न र उन्नमा व्यस्त ताथलीका स्थानीय

  • निशा कुस्मा/ख्वपखबर
  • अशोज २७, २०८२

भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र उन्नमा व्यस्त भएका छन् । तिहार नजिकिएसँगै भक्तपुरका विभिन्न ठाँउका स्थानीय मखमली फूल टिप्न र उन्नमा व्यस्त भएका हुन् ।

तिहार आउन केही दिन बाँकी हुँदा ताथली क्षेत्रका स्थानीयले मखमली फूल टिप्ने र उन्ने काम लगभग सकाइसकेका छन् । तिहारको लागि नै भनेर लागाइने सो फूल टिप्न र उन्नका लागि प्रत्येक घरका केटाकेटीदेखि महिला र पुरुष सबै लाग्ने गर्दछ । विशेषगरी तिहारको भाइटीकाका लागि नभई नहुने मखमली फूलमाला उन्न चाँगुनरायण वडा नं. ९ ताथली बाला टोल स्थानीयहरु व्यस्त छन् । 

नेवा समुदायमा परम्परागत रुपमा मखमली फूलखेती गर्ने वनमाला थरीको प्रमुख पेसा हो । आय आर्जनको प्रमुख स्रोत फूलखेती गर्ने वनमालाहरु ताथलीमा करिव ३५ घर परिवार रहेको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार सो क्षेत्रका प्रत्येक घरले मखमली खेती गरेका छन् । त्यस्तै बनमाला बस्तीसँगै उत्तर पट्टि बाला टोल छ । हाल सो टोलका स्थानीयले पनि मखमली खेती गर्न थालेको धेरै वर्ष भैसक्यो । 

यो वर्ष बाला टोलमा मात्र करिव ४० रोपनी जतीमा मखमली फुल खेती गरेको स्थानीय मञ्जु बालाले जानकारी दिएका छन् । एक रोपनी जग्गामा मखमली फूल लागाउदा करिव १५ सय देखि  दुई हजार माला उत्पादन हुने गरेको बालाको भनाई छ । उनका अनुसार बिगत ८,९ वर्ष देखि प्रति माला होलसेलमा घरसम्म लिन आउने ब्यापारीले २५ देखि ३० रुपैयाँसम्म तिरेर लाने गरेको छ । धान खेतमा भन्दा धेरै मेहनत गर्नु पर्ने भएता पनि आम्दानी राम्रो भएकाले फूल खेतीमा सन्तुस्ती भएको उनी बताउँछन् । 

वैशाख–जेठ महिनामा छर्ने मखमली फूल साउन महिनादेखि फूल टिपेर माला उन्न व्यस्त रहने वनमालाहरुको भनाइ छ । यसरी उनेका फूलमाला उपत्यकाका लगायत बनेपा, धुलिखेल र पोखरासम्म बिक्रीका लागि निर्यात गर्ने गरिएको स्थानीयले जानकारी दिए । यसरी बिक्रीमार्फत सो समुदायले वार्षिक रुपमा राम्रो आम्दानी गर्ने गरेका छन् । 

फूल मात्र बेचेर एक परिवारले १ लाखदेखि ८ लाख सम्म कमाउने गरेका छन् । त्यही कारण वनमालाहरु बाहेक अरु थरीका किसानहरु प्रत्येक वर्ष मखमली खेतीतर्फ आकर्षित भइरहेको छ । वनमालाहरुले परापूर्व समयदेखि गर्दै  आइरहेको फूलखेतीबाट राम्रो आम्दानी भएकै कारण मखमली फूलखेतीप्रति वनमालाहरु मात्र नभई अन्य जातिसमेत आकर्षित हुन थालेको हो । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो समय जिल्लामा ताथलीलगायत गुण्डु, छालिङ, दधिकोट, सिपाडोल, बालकोट क्षेत्रको विभिन्न स्थानमा समेत व्यावसायिक मखमली  र अन्य फूलखेती गर्न थालेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित