भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

कक्षामा भर्ना भएकै दिन विद्यार्थीले पाठ्यपुस्तक पाउने

  • ख्वपखबर
  • चैत्र २२, २०८२

सामुदायिक विद्यालयका विद्यार्थीले यस वर्ष पनि कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित जिल्लामा पठाउन थालिसकेका छन् । अधिकांश जिल्लामा पुस्तक पुगिसकेको केहीमा पुग्ने क्रममा रहेको छ । चैतको अन्तिम सातासम्म पुस्तक सबै जिल्लामा पुगिसक्ने जनक शिक्षाले जनाएको छ ।

यस पटक सरकारले कक्षा ३ र ५ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको छ । कक्षा १, ३ र ४ का विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी निजी मुद्रण संस्थालाई दिइएको छ । सरकारी तथ्याङ्क अनुसार जनक शिक्षाले एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । निजी मुद्रण संस्थाले भने ६० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । दुवै निकायले आफ्नो जिम्मेवारीमा रहेको पुस्तक छापेर ढुवानीसमेत सुरु गरिसकेका छन् । जनक शिक्षाले पुस्तक छापेर चैत १६ गतेबाट ढुवानीसमेत सुरु गरिसकेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार सानोठिमीस्थित केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका आठसमेत गरेर नौ स्थानबाट पुस्तक बिक्री भइरहेको छ । मुलुकभरका एक हजार दुई सय ५८ वटा अधिकृत विक्रेताले आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट पुस्तक लगेको पौडेलले जानकारी दिए । विक्रेतालाई सहज होस् भनेर शनिबार पनि सानोठिमीस्थित कार्यालयबाट पुस्तक बिक्री खुला राखिएको पौडेलको भनाइ छ ।

उनका अनुसार केन्द्रीय कार्यालयमा केही थान मात्रै पुस्तक बाँकी छ । जुन पुस्तक पनि ढुवानीको अन्तिम चरणमा छ । निजी मुद्रण संस्थाका अधिकारीसँग पनि जनक शिक्षाले नै बैठक राखेर सँगसँगै पुस्तक ढुवानी गरिरहेको छ । प्रबन्ध सञ्चालक पौडेलले भने, “केही दिनअघि निजी मुद्रण संस्थाका सञ्चालकसँग पनि बैठक गरेर पुस्तक ढुवानी सँगसँगै गरौँ भनेको थिएँ । सोही अनुसार उहाँहरूले पनि आफ्नै तरिकाबाट पुस्तक ढुवानी गरिरहनुभएको छ ।”

जनक शिक्षाले पुस्तक विक्रेतालाई सुगम र दुर्गम जिल्ला अनुसार न्यूनतम नौ प्रतिशतदेखि ४५ प्रतिशतसम्म कमिसन दिने गर्दछ । पुस्तक छपाइ र वितरणको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शुक्रबार जनक शिक्षा पुगेर जानकारी लिएका थिए ।

सो अवसरमा उनले विद्यार्थीले भर्ना भएको दिन पाठ्यपुस्तक पाउने गरी कामलाई तीव्रता दिन जनक शिक्षाका अधिकारीलाई निर्देशन दिएका थिए । केही वर्षसम्म विद्यालय तहमा पाठ्यपुस्तक अभावको ठुलो समस्या रहने गरेकामा पछिल्ला केही वर्षदेखि भने सहज हुँदै गएको छ । विगतमा टेन्डर, कागज खरिद, छापाखाना छनोट, वितरण, ढुवानी जस्ता प्रक्रियामा चलखेल हुँदा पुस्तक छपाइदेखि वितरणसम्ममा समस्या आउने गरेको थियो । अहिले यस्ता समस्याको करिब अन्त्य भएको छ । गोरखापत्रअनलाइन ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित